काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा तरकारी तथा फलफूलमा गरिएको जीवनाशक विषादी परीक्षणको नतिजा सार्वजनिक गरेको छ। विभागका अनुसार साउन महिनामा परीक्षण गरिएका ५ हजार ४२२ वटा नमुनामध्ये कुनै पनि नमुना प्रतिकूल भेटिएको छैन।
विभाग तथा मातहतका सात प्रदेशमा रहेका आठ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र १२ वटा खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट २०८३ साउन १ देखि ३१ गतेसम्म तरकारी तथा फलफूलमा विषादी परीक्षण गरिएको हो।
परीक्षणका क्रममा द्रुत विषादी परीक्षण विधि (RBPR) र Gas Chromatography Mass Spectroscopy-Mass Spectroscopy (GCMS-MS) विधि प्रयोग गरिएको विभागले जनाएको छ।
विभागको विवरणअनुसार RBPR विधिबाट ५ हजार ४१८ नमुना अनुकूल पाइएका छन् भने कुनै पनि नमुना प्रतिकूल भेटिएन। त्यस्तै, GCMS-MS विधिबाट परीक्षण गरिएका ४ नमुनामध्ये सबै ४ वटा अनुकूल पाइएको छ।
यसरी साउन महिनामा परीक्षण गरिएका कुल ५ हजार ४२२ नमुनामध्ये ५ हजार ४२२ वटै नमुना अनुकूल पाइएको विभागले जनाएको छ। अर्थात् परीक्षण गरिएका नमुनामध्ये कुनैमा पनि मापदण्डविपरीत जीवनाशक विषादीको मात्रा भेटिएको छैन।
विभागले तरकारी तथा फलफूलमा गरिएको विषादी परीक्षणको नतिजा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ। विभागले देशका विभिन्न स्थान तथा नाकामा नियमित रूपमा खाद्य पदार्थको गुणस्तर तथा स्वच्छता परीक्षण गर्दै आएको छ।