सरकार नेपाललाई ईयूको उडान सुरक्षा सूचीबाट हटाउन लागिपरेको छ : मन्त्री पौडेल

  • मिति : भदौ २, २०८३
497 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक  उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार गम्भीर भएर लागेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसँगसँगै अघि बढाइएको जानकारी दिए ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तर्जुमा भइसकेको बताए । उक्त विधेयक स्वीकृतिका छिट्टै संसदमा पेस गर्ने तयारी भएको उनले बताए ।

मन्त्री पौडेलले नेपालका लागि युरोपेली संघका राजदूत तथा ईयू सदस्य राष्ट्रहरूका (नेपालस्थित र गैरआवासीय) राजदूतहरूसँग छलफल गरेको जानकारी दिए ।

नेपालले उड्डयन सुरक्षामा गरेका वास्तविक सुधार, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी दिशाबारे जानकारी गराउँदै सकारात्मक सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

ईयूको सुरक्षा सूचीबाट हट्न केवल कूटनीतिक पहल मात्र पर्याप्त नहुने भएकाले वास्तविक र मापनयोग्य प्राविधिक सुधार नै मुख्य आधार रहेको उनले बताए । युरोपेली संघबाट प्राप्त हुने सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजाका आधारमा थप आवश्यक कदमहरू अघि बढाइने उनको भनाइ छ ।