विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन : आशिका तामाङ

  • मिति : भदौ १, २०८३
378 Shares

काठमाडौँ : रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि शून्य समयमा आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

विदेशमा अलपत्र शव व्यवस्थापन गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसके पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको र आफन्तहरू शव पाउने आशा गुमाउने अवस्थामा पुगेको उनले बताइन् ।

आफ्नो प्रश्नको सम्बोधन र सभामुखबाट रुलिङ नआएसम्म सदनमा उभिएरै विरोध जारी राख्ने चेतावनी दिएकी थिइन् ।

बैठकमा सभामुख डोल प्रसाद अर्यालले सांसदहरु गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिनसरकारलाई निर्देशन दिएकी थिइन् ।