नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

  • मिति : साउन २९, २०८३
446 Shares

काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ ।

एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुदैछ । विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए । टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनको भनाइ छ ।

उनले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाए । त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले विश्वकप लिग–२ बाट पहिचान गरिएका कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने बताएका छन् । मलेसियाको पिच ’कम गति र स्पिनरलाई मद्दत पुग्ने’ खालको रहेकाले नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उनको भनाइ छ ।

त्यस्तै क्यान सचिव पारस खड्का नेपाली टोली भारतमा तयारी गरेर सिधै मलेसिया जाने बताए । उनले नेपाली टीमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।