विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ : पूर्वाधार विकासमन्त्री लम्साल

  • मिति : साउन २९, २०८३
480 Shares

सुदूरपश्चिम ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि यहाँ आएका उनले आज धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुईलेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि सुदूरपश्चिममा ३१४ किलोमिटर सडक निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए ।

यस्तै, सघन सहरी कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण तथा मर्मतमा पर्याप्त बजेट रहेको र तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा पनि विभिन्न योजना कार्यान्वयन गरिने उनले उल्लेख गरे । मन्त्री लम्सालले सुदूरपश्चिममा अत्यावश्यक पूर्वाधार निर्माणका योजना ल्याएर आफूकहाँ आउन आग्रहसमेत गरे ।

“मेरो नेतृत्वमा रहेको मन्त्रालय मात्रै होइन सुदूरपश्चिमको विकासका लागि अरु मन्त्रालयअन्तर्गत रहेका योजना कार्यान्वयनका लागिसमेत सहजीकरण गर्न तयार छु । हामी काम गर्नकै लागि आएका छौँ, अत्यावश्यक पूर्वाधरलगायत अन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौँ”, मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले पाँच दिनसम्म सुदूरपश्चिमका सबै जिल्ला तथा क्षेत्रमा रहेका विभिन्न पूर्वाधारको अनुगमन, स्थानीय समस्या पहिचान र समाधानको पहलबारे जानकारी लिने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।