काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गरिएको हो ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्वसभापति शेरबहादुर देउवा तथा डा. कोइराला समूहका नेता–कार्यकर्ताको सहभागिता रहेको छ ।
भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् । भेलामा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत विभिन्न नेताहरू सहभागी छन् ।
जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए । उनको स्वागतका लागि देउवा समूहका नेता–कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलबाट उनलाई बाजागाजासहित चुनदेवीस्थित समूहको सम्पर्क कार्यालय लगिएको थियो, जहाँ उनले सम्बोधनसमेत गरेका थिए ।
पार्टीभित्र देखिएको विवाद, आगामी राजनीतिक रणनीति तथा संगठनात्मक विषयमा छलफल गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने बताइएको छ ।