काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन्। नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उ
नले सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै मञ्चमा राखेर मुलुकको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रस्ताव गरे। नेपालमा परराष्ट्र नीतिका बारेमा जनस्तरमा व्यापक चर्चा हुने गरे पनि यसका प्राविधिक पक्ष र कार्यविधि (मोडालिटी) बारे बुझाइको कमी रहेको उनको भनाइ छ। परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) लाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।
यसअघि परराष्ट्र मामिलाका सम्बन्धमा विभिन्न समितिहरू गठन गरी सुधारका प्रयास गरिएको स्मरण गर्दै उनले कूटनीतिक नियुक्तिहरूलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने उल्लेख गरे। परराष्ट्र नीतिमा साझा धारणाको आवश्यकता औँल्याउँदै पाण्डेले भने, ‘हाम्रो विदेश नीतिमा एक विचार र एक दृष्टिकोण हुनुपर्छ भनेर हामी सबै फोरममा भन्छौँ। तर हामी किन त्यसो गर्न सकिरहेका छैनौँ भन्ने विषयमा पनि गम्भीर अध्ययन हुनुपर्छ। सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै फोरममा राखेर अबको नेपालको परराष्ट्र नीति कस्तो हुने भन्नेमा एउटा साझा दृष्टिकोण तय गर्न आवश्यक छ।’
कूटनीतिक बुझाइ र ज्ञानको अभावबारे टिप्पणी गर्दै उनले थपे, ‘नेपालमा परराष्ट्र नीतिबारे जनस्तरसम्मै व्यापक बहस हुन्छ। चिया पसलदेखि सबै ठाउँमा ‘डिप्लोम्याटिक रूपमा समाधान गर्नुपर्छ’ भन्ने सुनिन्छ, तर त्यो कूटनीति भनेको के हो? कसरी गरिन्छ? त्यसको प्राविधिक ज्ञान र कार्यविधि के हो? यस्ता प्रश्नको स्पष्ट उत्तर हामीसँग कमै छ। आफूलाई जान्ने ठान्नेहरूले पनि ‘कूटनीतिक रूपमा समाधान गर्नुपर्छ’ भन्छन्, तर त्यसको मोडालिटी के हो भनेर सोध्दा अप्ठ्यारो पर्छ।’
क्षमता विकास र राजदूत नियुक्तिको विषय जोड्दै उनले अगाडि भने, ‘यस विषयमा हामीले गम्भीरतापूर्वक सोच्न आवश्यक छ। आर्थिक कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न पक्षमा हाम्रो क्षमता विकास गर्नुपर्छ। हामीले राजदूत पठाउने मुलुकहरूको संस्कृति, राजनीतिक प्रणाली, मूल्य–मान्यता, अर्थतन्त्र र उनीहरूको विदेश सम्बन्धबारे सम्बन्धित व्यक्तिलाई पर्याप्त ज्ञान र अध्ययन हुनुपर्छ। त्यसले मात्र हाम्रो कूटनीतिलाई प्रभावकारी र राष्ट्रिय हितअनुकूल बनाउन सक्छ।’
राजदूत नियुक्ति गर्दा सम्बन्धित मुलुकको संस्कृति, राजनीतिक प्रणाली, मूल्य मान्यता, अर्थतन्त्र र सो देशको वैदेशिक सम्बन्धका बारेमा नियुक्त हुने व्यक्तिलाई पूर्ण ज्ञान हुनुपर्ने पाण्डेको तर्क छ। आर्थिक कूटनीति र अन्य कूटनीतिक भूमिकाहरूलाई प्रभावकारी बनाउन योग्य र विषयविज्ञ व्यक्तिको चयन अनिवार्य रहेको उनले बताए।