टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु

  • मिति : साउन १, २०८३
769 Shares

वाशिङ्टन डीसी । अमेरिकाको टेक्सास राज्यमा आएको भीषण वर्षापछि आएको बाढीमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । केही क्षेत्रमा पानीको सतह घट्न थाले पनि अधिकारीहरूले आगामी २४ घण्टा अझै सतर्क रहन सबैलाई आग्रह गरेका छन् । मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबारसम्म पुनः भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ, जसले बाढीको जोखिम अझ बढाउन सक्ने बताइएको छ  ।

टेक्सासका गभर्नर ग्रेग एबटले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सबै नागरिकलाई बाढीको पानी र डुबान भएका सडकबाट टाढा रहन आग्रह गरे । ‘आगामी २४ घण्टासम्म टेक्सासमा बस्ने सबैले विशेष सतर्कता अपनाउनुपर्छ । यदि हामीले बढ्दो पानीको स्तर र डुबान भएका सडकमा प्रवेश नगर्ने हो भने, थप मानवीय क्षति हुनबाट जोगिन सक्छ,’ उनले भने ।

हाल उद्धार तथा राहत टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ । अधिकारीहरूले आगामी केही दिनसम्म बाढीको जोखिम कायम रहने चेतावनी दिएका छन्।