महासचिव कुमार बोगटी : सचिवदेखि लगातार दोस्रो कार्यकालसम्मको नेतृत्व, संघलाई नयाँ उचाइमा पुर्‍याउने अभियान

  • मिति : जेष्ठ ३१, २०८३
2K Shares

काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघका महासचिव कुमार बोगटीले संघको संगठन विस्तार, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संघलाई नयाँ उचाइमा पुर्‍याएका छन्।

वि.सं. २०७९ सालमा सचिव पदमा निर्वाचित भएका बोगटीले करिब सात महिनापछि कार्यविभाजनअनुसार महासचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए। त्यसपछि वि.सं. २०८० सालमा सम्पन्न अधिवेशनबाट औपचारिक रूपमा महासचिव पदमा निर्वाचित भएका उनी हाल सम्पन्न नवौं तथा दशौं वार्षिक साधारण सभा एवं तेस्रो राष्ट्रिय अधिवेशनबाट पुनः निर्विरोध महासचिव चयन भएका छन्।

महासचिव बोगटीको नेतृत्वकालमा संघले संगठन विस्तार, सदस्य संख्या वृद्धि, प्रदेशस्तरीय संरचना मजबुत बनाउने तथा व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न पहलहरू अघि बढाएको छ। संघले सातै प्रदेशमा आफ्नो पहुँच विस्तार गर्दै नयाँ सदस्यहरूलाई आबद्ध गराउने अभियान सञ्चालन गरेको छ।

उनकै सक्रियतामा संघले व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिएको छ। अनलाइन सदस्यता, भर्चुअल बैठक, डिजिटल सञ्चार प्रणाली तथा व्यवसाय प्रवर्द्धनका आधुनिक उपायहरूलाई संस्थागत रूपमा अघि बढाइएको छ।

त्यसैगरी व्यवसायीहरूको हकहित संरक्षणका लागि सरकारी निकायसँग समन्वय, नीतिगत सुधारका पहल, सदस्यहरूको समस्या समाधानका लागि विशेष समिति गठन तथा विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजनाहरू कार्यान्वयनमा ल्याइएको छ।

संघको प्रतिवेदनअनुसार विगत वर्षहरूमा व्यवसायी दिवस मनाउने, सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने, रिकन्डिसन सवारी साधनको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने अभियानमा पनि संघले उल्लेखनीय सफलता हासिल गरेको छ।

निरन्तर दुई कार्यकाल महासचिवको जिम्मेवारीमा पुगेका बोगटीले संघलाई अझ सशक्त, व्यवसायीमैत्री र प्रविधिमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदस्यहरूको एकता, सहयोग र विश्वासकै कारण संघले सफलता हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा व्यवसायीहरूको अधिकार संरक्षण, संगठन विस्तार र व्यवसायको दीर्घकालीन विकासका लागि थप सक्रिय रूपमा काम गर्ने बताएका छन्।

संघभित्रको सक्रियता, समन्वय क्षमता र व्यवसायीहरूको विश्वासका कारण कुमार बोगटी आज नेपाल रिकन्डिसन अटो व्यवसायीहरूको साझा आवाजका रूपमा स्थापित हुँदै गएको व्यवसायीहरू बताउँछन्।