प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव

  • मिति : जेष्ठ ३१, २०८३
718 Shares

काठमाडौं । तीन दिनसम्म दरबारमार्गको दरबार रोधी क्लब लोकसंगीतको रंगमा रंगियो। एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्‍यो।

२९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा प्रेमराजा महतको ‘माया भेटियो बन्दीपुरैमा’, राजु परियारको ‘मिर्मिरेको घाम’, श्याम रानाको ‘रेलै सलल’ र दीपिका बयम्बुको ‘मायालाई के दिउँ म बैना’ जस्ता लोकप्रिय गीतले दर्शकलाई झुमाएका थिए। कृष्ण कँडेलले लाइभ दोहोरी प्रस्तुत गर्दै माहोललाई थप जीवन्त बनाएका थिए।

कार्यक्रमकै अवसरमा दरबार रोधी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ। क्लबका अध्यक्ष श्रवणकुमार कुँवरले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि वार्षिकोत्सवबाट प्राप्त आम्दानीको एक हिस्सा यस्ता कलाकारहरूको सहयोगमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवको दोस्रो दिन गायिका प्रीति आले र गायक कुलेन्द्र विश्वकर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिए। प्रीति आलेले ‘बामरी बामरी’ प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए भने कुलेन्द्रले ‘सालको पातको टपरी’ गाएर माहोल तताएका थिए।

उत्सवको अन्तिम दिन गायक विश्व दोङको प्रस्तुति मुख्य आकर्षण बन्यो। उनको चर्चित तामाङ सेलो ‘माया भन्दा ठूलो जात होइन’ दर्शकको प्रतिक्षामा रहने नै भयो।

दरबारमार्गस्थित मायालु कम्प्लेक्समा आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महत प्रमुख अतिथि थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथि तथा नेपाल लोक दोहोरी व्यावसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यावसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यावसायी संघका अध्यक्ष आशिष खड्का, रात्रिकालीन व्यावसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अतिथि कलाकारहरूलाई परम्परागत नौमती बाजासहित स्वागत गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। कार्यक्रमको सञ्चालन कृष्ण आँसुले गरेका थिए।

नेपाली लोकगीत–संगीतको संरक्षण, संवर्द्धन तथा नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको दरबार रोधी क्लबले १८ वर्षको यात्रामा थुप्रै कलाकारलाई व्यावसायिक अवसर प्रदान गरेको छ। यस वर्षको वार्षिकोत्सवले मनोरञ्जनसँगै कलाकारप्रतिको सामाजिक दायित्वलाई पनि सँगसँगै अघि बढाउन सकिने सन्देश दिएको आयोजकको भनाइ छ।