प्रधानमन्त्री वालेन शाहको अभिव्यक्ति सार्वभौमसत्ताप्रतिको घात हो : जेनजी अगुवा विकेश साह

  • मिति : जेष्ठ १८, २०८३
816 Shares

काठमाडौं। कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नू सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसलाई फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउन समेत जेनजी अगुवा साहले माग गरेका छन् । प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग समेत उनले गरेका छन् ।

‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएपछि कमन जेनजी नेपालका अध्यक्ष साहले ‘कसलाई खुशी पार्नका लागि बोल्नु भो’ भन्दै प्रश्न गरेका छन् ।

‘भारतको कुन ठाऊँको जग्गा, कती र कहिले मिचेको हो ? तथ्य सार्वजनिक गर्नुस । हामी जान्न चाहन्छौ । तपाईले मनपरी बोलन मिल्दैन, राष्ट्रिय अखण्डता जस्तो गम्भीर विषयमा जे पनि बोलनु आपत्तिजनक छ । तपाईले यो कसलाई खूशी पार्न बोलनु भो ? यो नेपालको हितमा त पक्कै छैन । म बिशेष आग्रह गर्न चाहन्छू, प्रधानमंत्रीज्यू यो भनाई फिर्ता लिनुस र संसदको रेकर्डबाट हटाउनुस,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भनेका छन् ।

प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्ति आएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । राष्ट्रिय अखण्डता जस्तो गम्भिर बिषयमा यस्तो अभिव्यक्ति दिनु आपतीजनक भएको टिप्पणी भइरहेको छ ।