कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा, ३०२ जनालाई फर्काइँदै

  • मिति : जेष्ठ १५, २०८३
633 Shares

काठमाडौं । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो ।

भिसा शुल्क मिनाहा गरिएकामध्ये ३०२ नेपाली स्वदेश फर्किन बाँकी छ । सबैलाई नेपाल फर्कन ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गरिसकेको थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बाह्रखरीसँग भने ।

“भिसा शुल्क मिनाहा भएका ३०२ जना नेपाली फर्कन बाँकी छ । यीमध्ये २५० जना फर्कन लागेका छन् । ५२ जना अटेरी गर्दै बसेको जानकारी प्राप्त भएको छ । अबको एकसाता भित्र नफर्के उनीहरूमाथि कम्बोडियाको नयाँ कानुनअनुसार कडा कारबाही हुन्छ,” राजदूत वलीले भने ।

कम्बोडियामा भिसाको समयावधि समाप्त भइसकेपछि बस्ने विदेशीलाई दिनको १० अमेरिकी डलर जरिबाना गरिन्छ । पछिल्लो केही महिनायता मात्र कम्बोडिया सरकारले नेपालीले तिनुपर्ने आठ करोड रुपैयाँभन्दा बढी जरिबाना मिनाहा गरिसकेको छ ।

यसैबीच, बैंककस्थित नेपाली दूतावासले शुक्रबार एक सूचना प्रकाशित गर्दै भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ ।

तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकलाई कम्बोडिया सरकारले हालै लागु गरेको नयाँ कानुनी व्यवस्थाअनुसार पक्राउ गरी कडा कारबाही गर्ने र जरिबाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको छ ।

कम्बोडियाले ल्याएको नयाँ कानुनमा अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने विदेशी र भिसा अवधि सकिएपछि पनि बस्ने विदेशीलाई पाँच लाख अमेरिकि डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरेको छ । अबको एकसाता भित्र नफर्कने नेपाली जो अवैध रूपमा कम्बोडियामा बसेका छन् उनीहरूलाई यसै कानुनअनुसार कारबाहीमा पर्ने राजदूत वलीले जनाए ।

राजदूत वलीका अनुसार आठ लटमा गरी ६०२ जना नेपालीको जरिबाना शुल्क मिनाह गरिएको हो । यसमध्ये पाँचौँ र छैटौँ लटका ५२ जना नेपाली अझै अटेर गरी कम्बोडियामा बसिरहेको उनले जनाए ।

कम्बोडिया सरकारबाट जरिबाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ । हवाई टिकटको व्यवस्था गरेपछि त्यसबारे कम्बोडियाको अध्यागमन विभागमा जानकारी दिनुपर्नेछ ।

मानवतस्करले विभिन्न प्रलोभनमा पारी ठूलो संख्यामा नेपालीलाई कम्बोडिया पुर्‍याई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा काम गर्न लगाउने गरेका छन् । यसरी फसेकाहरूलाई बैंककस्थित नेपाली दूतावासले दुई वर्षदेखि उद्धार गरी स्वदेश फर्काउँदै आएको छ ।