नेपाल र बेलायतबिचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भूमिका महत्त्वपूर्ण : बेलायती मन्त्री

  • मिति : जेष्ठ १०, २०८३
990 Shares

काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायत बिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् ।

आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबिचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरित मैत्री सन्धिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गरिन् ।

मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एक अर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गरिन् । नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उनको भनाइ छ ।

बेलायतले आफ्नै देशमा लागू गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ को अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारी गर्न सकिने उनले बताइन् । नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेशनल एजुकेसन’ को महत्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न मद्दत गर्ने धारणा राखिन् ।

हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको जानकारी उनले दिइन् । मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबिच ‘लिभिङ ब्रिज’ को काम गरिरहेको बताइन् ।

बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुसी व्यक्त गर्दै उनले बेलायत पढ्न जाने नेपाली विद्यार्थी छैटौँ ठुलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको उल्लेख गरिन् ।

उनले भनिन्,  ‘कुनै पनि राष्ट्रले मानवीय प्रतिभामा लगानी नगरी आफ्ना आकाङ्क्षाहरू पूरा गर्न सक्दैन। बेलायत र नेपालले दशकौँदेखि विद्यालय शिक्षा र शिक्षक तालिममा सहकार्य गर्दै आएका छन् । यदि तपाईँ आर्थिक वृद्धि चाहनुहुन्छ भने सीप चाहिन्छ, र रोजगारीका लागि उपयुक्त तालिम आवश्यक पर्छ ।’

भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए । ती भेटहरूमा आधारभूत सिकाइ ढाँचा, बालिका शिक्षा र अटिजम भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् । मन्त्री मल्होत्राले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सदैव भरपर्दो साझेदार रहने विश्वास व्यक्त गरिन् ।