ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किए, दुईजनाको मृत्यु

  • मिति : साउन १८, २०८३
582 Shares

काठमाडौं । ग्रिसमा डढेलो निभाउने क्रममा आइतबार दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा डेनमार्कका एक पाइलट र ग्रिसको फायर सर्भिसका एक सम्पर्क अधिकृतको मृत्यु भएको हो ।

अर्का बेलायती पाइलट र एक ग्रिक समन्वयकर्ता सामान्य घाइते भएका छन् । दुर्घटना राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा रहेको अट्टिका–बोयोटिया सीमाक्षेत्रमा फैलिएको भीषण डढेलो निभाउने क्रममा भएको हो ।

घटनाको भिडियो सार्वजनिक भएको छ । जसमा एउटा हेलिकोप्टर अर्कोसँग आकासमै ठोक्किएको देखिन्छ । ठोक्किएपछि एउटा हेलिकोप्टरमा आगो लागेको र नजिकैको खोंचमा खसेको थियो । अर्को हेलिकोप्टरले भने आकस्मिक अवतरण गर्न सफल भएको थियो ।

ग्रिक फायर सर्भिसका अनुसार दुर्घटनापछि एउटा हेलिकोप्टरमा सवार दुवै चालक दलका सदस्यलाई भने सकुशल उद्धार गरिएको थियो । अर्को हेलिकोप्टरमा रहेका दुवैजनालाई बेहोस अवस्थामा निकालिए पनि अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

यसै हप्ता ग्रिसमा फैलिएको भीषण डढेलोका कारण ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पोर्टो जर्मेनो, पासाथा, फोकिडा, मेगारा र केफालोनियालगायत धेरै क्षेत्रमा पछिल्लो ७२ घण्टादेखि ५०० भन्दा बढी अग्निनियन्त्रक आगो नियन्त्रणमा लिन निरन्तर खटिएका छन् । बीबीसी