हङकङको जोर्डनमा आगलागी, १ जनाको मृत्यु ४ घाइते

  • मिति : जेष्ठ ८, २०८३
871 Shares

काठमाडौँ : हङकङको जोर्डनमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जोर्डनको म्यानयुन बिल्डिङको फ्ल्याटमा आगो लाग्दा ६९ वर्षीय वृद्धको मृत्यु र चार जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मर्मतसम्भार भइरहेको भवन ६२ वर्ष पुरानो हो। आगलागी बिहीबार राति पौने ११ बजे भएको थियो। आगलागीका कारण भवनका करिब ३०० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेका छन्।

झन्डै १२ बजे नियन्त्रणमा लिइएको आगो निभाउन घटनास्थलमा दमकल सेवा विभागका २० वटा दमकल, १० वटा एम्बुलेन्स र १०६ जना कर्मचारी खटिएका थिए।

दमकल विभागका अनुसार, ९ वटा युनिटमा विभाजन गरिएको प्रभावित फ्ल्याटको पछाडिको युनिटबाट आगो लाग्न सुरु भएको थियो।

प्रहरीले कुनै पनि आपराधिक तत्वको कुनै प्रमाण नभएको र आगलागीको कारण अनुसन्धान भइरहेको बताएको छ। आगलागीबाट घाइतेहरूलाई याउमा तेईस्थित क्वाङवाह अस्पताल लगिएको थियो। घाइतेहरू ४३ देखि ७८ वर्ष उमेरका छन्।

हङकङमा गतवर्ष नोभेम्बरमा भएको भीषण आगलागीमा १६८ जनाको ज्यान गएको थियो। ताइपोको वाङफुक कोर्टका आठ आवासीय भवनमध्ये सात वटामा आगो लाग्दा उक्त विनाश निम्तिएको थियो। ती भवनमा पनि मर्मतसम्भार भइरहेका बेला अनिष्ट आइपरेको थियो।