अमेरिकी जहाजमाथि हमला गरे इरानलाई विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

  • मिति : बैशाख २२, २०८३
2.7K Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विश्वको नक्साबाटै मेटाइदिने चेतावनी दिएका छन् ।

सोमबार इरानले होर्मुज जलमार्गमा सुरक्षा दिइरहेका अमेरिकी सामरिक जहाजहरूमाथि हमला गर्ने प्रयास गरे इरानलाई ‘धर्तीको नक्साबाटै मेटाइने’ ट्रम्पले चेतावनी दिएका हुन् । ट्रम्पले ‘फक्स न्यूज’ लाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

इरानले अमेरिकी सेन्ट्रल कमान्डअन्तर्गत ‘प्रोजेक्ट फ्रिडम’ अभियानमार्फत सुरक्षा दिइरहेका जहाजहरूलाई निशाना बनाएपछि तनाव थप चुलिएको बताइएको छ ।

ट्रम्पको आदेशमा ‘प्रोजेक्ट फ्रिडम’ अभियान सुरु भएको छ । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले दक्षिण कोरियाको एक मालवाहक जहाजसहित अन्य देशका जहाजहरूमाथि हमला गरेको दाबी गरेका छन् ।

फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएदेखि होर्मुज जलमार्ग प्रभावकारी रूपमा बन्दजस्तै रहेको बताइएको छ ।
ट्रम्पले अमेरिकी सेनाले इरानका ‘फास्ट बोट’ भनेर चिनिने सातवटा साना सैन्य डुंगा नष्ट गरेको जानकारी दिएका छन् । उनले व्यंग्यात्मक शैलीमा अब इरानसँग यस्तै डुंगाहरू मात्र बाँकी रहेको टिप्पणी गरेका छन् ।

ट्रम्पले दक्षिण कोरियालाई पनि यस अभियानमा सहभागी हुन आग्रह गरेका छन् । इरानले दक्षिण कोरियाली जहाजमाथि पनि हमला गरेको दाबी गर्दै उनले अब दक्षिण कोरिया यस अभियानको हिस्सा बन्नुपर्ने बताएका हुन् ।

यस घटनाक्रमबारे थप जानकारी दिन अमेरिकी युद्ध सचिव पिट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले मंगलबार बिहान सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति र सैन्य शक्ति निरन्तर बढिरहेको बताएका छन् । उनले अमेरिकासँग पहिलेको तुलनामा धेरै उच्चस्तरका हतियार र गोला–बारुद भण्डारण गरिएको दाबी गर्दै विश्वकै उत्कृष्ट सैन्य उपकरण अमेरिकासँग रहेको बताएका छन् ।