काठमाडौं । इरान र अमेरिकाबीचको शान्ति वार्ता विफल भएपछि उक्त क्षेत्रमा पुनः तनाव चुलिएको छ ।
इरानले सुरुदेखि नै युद्धविरामका निम्ति क्षतिपूर्तिको माग गर्दै आएको थियो । हाल इरानले पश्चिम एसियाका पाँच ठूला देशसँग युद्धमा भएको नोक्सानीका निम्ति क्षतिपूर्ति मागेको छ ।
इरानले क्षतिपूर्ति मागेका देशमा बहराइन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र जोर्डन छन् । यी देशले फेब्रुअरी २८ को प्रारम्भिक आक्रमणपछि आफ्नो भूमि इरानमाथि हमला गर्नका निम्ति प्रयोग गर्न दिएको जिकिर गरिएको छ । इरानले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रविपरीतको ‘घोर आक्रमक कार्य’ भनेको छ ।
यी देश प्रत्यक्ष रूपमा वा पर्दा पछाडिबाट इरानविरुद्धका अमेरिकी र इजरायली हमलामा सहभागी भएको आरोप लगाइएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका निम्ति इरानी प्रतिनिधि अमिर–सईद इरानीले यो मुद्दामा इरानको पक्ष राखेका छन् । उनले यी पाँचै देशले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेका बताएका छन् ।
यी देशको सहयोगका कारण इरानले जनधन र सम्पत्तिको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले त्यसको भर्पाइ अब यिनै मुलुकले गर्नुपर्ने माग गरेका छन् ।