प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेका प्राधिकरणका अधिकृत गृहमन्त्रीको आदेशमा पक्राउ

  • मिति : मंसिर ४, २०८३
684 Shares

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइराला गृहमन्त्रीको आदेशमा पक्राउ परेका छन्।

रुसको मस्कोमा आयोजित विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डलाई स्वागत गर्न कोइराला पनि नेताहरूसँगै विमानस्थलको भीआईपी कक्षमा पुगेका थिए। सोही विमानबाट फर्किएका गृहमन्त्री सुधन गुरुङले सरकारी कर्मचारी राजनीतिक नेताको स्वागतमा लाइन बसेको देखेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको बताइएको छ।

चितवन घर भएका ४५ वर्षीय इलेक्ट्रिकल इन्जिनियर कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत्त पुर्‍याएको थियो। त्यहाँ दिनभर सोधपुछ गरेपछि बिहीबार साँझ उनलाई रिहा गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले पुष्टि गरेका छन्।

गृहमन्त्री गुरुङ संयुक्त अरब इमिरेट्समा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर फर्किएका थिए। सरकारी कर्मचारीले पदीय मर्यादाविपरीत राजनीतिक नेतृत्वको स्वागत गरेको भन्दै उनले विमानस्थलका महानिर्देशकसँग समेत असन्तुष्टि जनाएको बताइएको छ।