आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

  • मिति : मंसिर ४, २०८३
429 Shares

काठमाडाैं । आज हरिबोधिनी एकादशी, जसलाई ठूलो एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । याे हिन्दू धर्मालम्बीहरूको एक अत्यन्तै महत्त्वपूर्ण पर्व र व्रत हो । यो पर्व हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइन्छ ।

पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु चार महिनाको योगनिद्रा (चतुर्मास) पूरा गरी यसै दिन बिउँझनेछन् । भगवान् विष्णु जागा हुने भएकाले नै यसलाई ‘हरिबोधिनी’ भनिएको हो । आषाढ शुक्ल एकादशीका दिन घरघरमा सारिएको तुलसीको मठलाई यस दिन विशेष रूपमा सिँगारेर भगवान् विष्णु (दामोदर)सँग विवाह गरिदिने परम्परा छ । यस दिन तुलसीको पूजा गर्नाले रोगव्याधि नाश हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

अर्काे पौराणिक मान्यताअनुसार जलंधर नामका दानवकी पत्नी ‘वृन्दा’ (तुलसी) अत्यन्त पतिव्रता थिइन् । उनको भक्तिको प्रभावले देवताहरू पनि पराजित भएका थिए । पछि भगवान् विष्णुले छलपूर्वक वृन्दाको पतिव्रता धर्म भङ्ग गरिदिए पछि जलंधरको वध भयो । सत्यको रक्षाका लागि यो रूप धारण गर्नुपरेकोमा पश्चात्ताप गर्दै भगवान् विष्णुले वृन्दालाई ‘तिमी मलाई प्रिय छौ र आगामी जन्ममा तुलसीको रूपमा पूजा पाउनेछौ, म विना तिम्रो पूजा अधुरो हुनेछ’ भनी वरदान दिएका थिए ।

आषाढ शुक्ल एकादशीका दिन (हरिशयनी) घरमा रोपेको तुलसीको बोटलाई कार्तिक शुक्ल एकादशी (हरिबोधिनी)का दिन पूर्ण रूपमा परिपक्व मानी भगवान् विष्णु (शालिग्राम)सँग विवाह गरिदिने चलन छ । यस दिन तुलसी विवाह सम्पन्न गर्नाले कन्यादान बराबरको ठूलो पुण्य फल प्राप्त हुने जनविश्वास छ ।

एकादशीको बिहानै सूर्योदयपूर्व उठेर पवित्र नदी, जलाशय वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ र व्रतको संकल्प लिइन्छ । तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी फूलमाला, रङ्गोली र तोरणले सजाइन्छ । मठको नजिकै उखु गाडेर मण्डप बनाइन्छ र भगवान् विष्णु तथा तुलसीको विधिपूर्वक पूजा गरिन्छ ।

यस दिन अन्न (विशेषगरी चामल) ग्रहण गरिँदैन । व्रतालुहरूले दिनभर निराहार वा फलाहार (सखरखण्ड, पिँडालु, तरुल, फलफूल, दूध आदि) ग्रहण गर्छन् । भगवान्‌लाई नैवेद्यका रूपमा सखरखण्ड, पिँडालु, उखु, बदाम, अम्बा आदि चढाउने चलन छ । दिनभर विष्णु सहस्रनाम पाठ गर्ने, भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ ।

तुलसी विवाहको पूजा गर्ने विधि

मण्डप सजावट: विवाहको दिन घरको आँगन वा तुलसीको मठलाई गोबर र रातो माटोले लिपपोत गरेर सफा गरिन्छ । मठको चारैतिर उखुका चारवटा बोट गाडेर सुन्दर मण्डप बनाइन्छ र त्यसमा फूलमाला तथा तोरण टाँसिन्छ ।

तुलसी र शालिग्रामको शृङ्गार: तुलसीको बोटलाई रातो वा पहेँलो चुनरी (पछ्यौरा) ओढाइन्छ र त्यसमा पोते, चुरा, सिन्दूर तथा सौभाग्यका सामग्रीहरू चढाइन्छ । साथै, शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीक मानेर पञ्चामृतले स्नान गराई पहेँलो वस्त्र र चन्दन लगाइदिइन्छ ।

कन्यादान र परिक्रमा: तुलसीलाई लक्ष्मीको र शालिग्रामलाई विष्णुको स्वरूप मानी विधिपूर्वक संकल्प गरिन्छ । पहेँलो धागो वा कपडाले उनीहरूबीच गठबन्धन जोडिन्छ र मण्डपको चारैतिर घुमाएर (परिक्रमा गरेर) विवाह सम्पन्न गरिन्छ ।

आरती र प्रसाद: विवाह सम्पन्न भएपछि वैदिक मन्त्रोच्चारणका साथ पूजा, हवन, आरती गरिन्छ र घरपरिवार तथा इष्टमित्रलाई सखरखण्ड, पिँडालु, उखु र मौसमी फलफूलको प्रसाद वितरण गरिन्छ ।

तुलसी विवाह सम्पन्न भएसँगै हिन्दू समाजमा औपचारिक रूपमा बिहेव्रतबन्धलगायतका शुभ तथा मांगलिक कार्यहरूको बाटो खुल्ने (मुहूर्त सुरु हुने) जनविश्वास रहिआएको छ ।

नेपालमा हरिबोधिनी एकादशीका दिन विभिन्न विष्णु मन्दिरहरूमा ठूलो मेला लाग्दछ । काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचङ्गुनारायण) तथा बूढानीलकण्ठ मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्छ । साथै, पाल्पा र गुल्मीको संगमस्थल रिडी (रुरुक्षेत्र), देवघाट, वराहक्षेत्र लगायतका तीर्थस्थलहरूमा स्नान गर्ने र फूलको तोरण तार्ने भव्य मेला लाग्छ ।

एकादशीको भोलिपल्ट अर्थात् द्वादशीका दिन बिहान स्नान गरी पुनः तुलसी र भगवान् विष्णुको पूजाआजा गरेर ब्राह्मण वा दीनदुःखीलाई दानदक्षिणा दिएपछि मात्र अन्न ग्रहण गरी व्रत समापन (पारण) गरिन्छ ।

facebook sharing button
twitter sharing button