गगनप्रति बालेनपछि अमरेशको कटाक्ष– नयाँ पार्टीका सभापतिज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्

  • मिति : अशोज १९, २०८३
480 Shares

काठमाडौं । रास्वपा नेता तथा सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस पार्टी त्यतिकै नछोडेको बताएका छन् । आइतबार १५ औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले रास्वपालाई चुनावमा भोट मात्रै नभएर प्रशिक्षित नेताहरू पनि पठाएको टिप्पणी गरेका थिए ।

थापाको सोही भनाइप्रति सिंहले फेसबुकमा लेखेका छन्, ‘नयाँ पार्टीका सभापतिज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन् ।’ पूर्वकांग्रेस नेता समेत रहेका सिंहले लोकतन्त्रका लागि लडेको कांग्रेसलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको भनेर प्रश्न गरे ।

‘नाक फुलाएर ‘लोकतन्त्र ल्याउने पार्टी’ भनेर गर्व गर्नुभयो । तर प्रश्न यो हो– त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो ?’ सिंहले लेखेका छन्, ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ । लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने– योभन्दा ठूलो विडम्बना अरू के होला ?’

यसअघि गएराति रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले पनि थापाप्रति कटाक्ष गरेका थिए । खुलामञ्चमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै संसद् खुला र जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै देशलाई खुलामञ्च आवश्यक रहेको बताएका थिए । सोही विषय लक्षित साहले फेसबुकमा लेखेका थिए, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’