सशस्त्र प्रहरी बल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको २४औँ स्थापना दिवस सम्पन्न

  • मिति : अशोज १०, २०८३
497 Shares

काठमाडौ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझीया, संसरीको २४औँ स्थापना दिवस एक विशेष समारोहका बिच सम्पन्न भएको छ।

तात्कालिक दन्तकाली गणको स्थापना दिवस २०५९ असोज १० गतेको अवसरलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णुप्रसाद भट्टको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कन्चनरुप नगरपालिकाका प्रमुख, सप्तकोशी नगरपालिकाका प्रमुख, जिल्ला सुरक्षा समितिका सदस्य, स्थानीय जनप्रतिनिधि, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी तथा अमर सशस्त्र प्रहरीका परिवारजनको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिआइजी भट्टले शिक्षालयले विशेष प्रकृतिको तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आएकोमा प्रशंसा गर्नुभयो। यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सुरक्षा निकाय र स्थानीय तहबिचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले यस शिक्षालय लगायत सुरक्षा निकायहरूसँग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो। साथै, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाशकुमार सुवेदीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई धन्यवाद दिनु भएको थियो।