कृष्णभीरसहित पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो

  • मिति : अशोज ९, २०८३
701 Shares

काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभीरसहित सात ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

कृष्णभीरमा रातिदेखि नै पहिरो र ढुंगा खसेको थियो । सडकमा खसेको पहिरो पन्छाउने काम भए पनि थप वर्षाका कारण प्रभावित भएको छ । यहाँ तलबाट समेत सडक भासिन थालेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन् ।

धादिङतर्फको कृष्णभीरसहित जरे, जवाङखोला, परेवाभीर, कमेरेभीर, ज्यामिरेलगायत ठाउँमा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिइन् ।

“पृथ्वी राजमार्गका ठाँउ ठाउँमा पहिरो खसेको छ, पहिरो पन्छाउने कार्य पनि जारी छ,” प्रमुख जिल्ला अधिकारी पाण्डेयले भनिन् । निरन्तर परिरहेको पानीका कारण पहिरो पन्छाउने कार्यमा समेत अवरोध पुगिरहेको उनको भनाइ छ ।

यता, पृथ्वी राजमार्गस्थित चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङनजिक धारापानीमा सडक भासिएको छ । शुक्रबार बिहान सवा ६ बजेतिर सडक भासिएपछि सडक अवरुद्ध छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना जारी गर्दै मुग्लिन-नारायण सडकखन्डमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लागाएको छ ।

नेपाल मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएपछि थप विपद् र जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सावधानी अपनाएको छ ।