काठमाडौं : खाडीमा बढ्दो तनावका बीच भारतको व्यापार र ऊर्जा आपूर्तिलाई लिएर चिन्ता बढेको छ। यस्तो समयमा ओमानको सोहर पोर्ट अचानक चर्चामा आएको छ। होर्मुज स्ट्रेटभन्दा बाहिर रहेको यो बन्दरगाह भारतका लागि खाडीसम्म पुग्ने एक वैकल्पिक मार्ग बन्नसक्छ। अर्थात्, यदि होर्मुज आसपास लामो समयसम्म आवतजावत प्रभावित हुन्छ भने सोहरमार्फत भारतसँग आफ्नो व्यापार र आपूर्ति श्रृंखलालाई अगाडि बढाउने अर्को बाटो उपलब्ध रहनेछ।
भारतको इन्धन आपूर्ति श्रृंखला अगाडि बढ्नि भनेको नेपालका लागि सोझो अर्थमा फाइदाजनक हो किनकि नेपालमा पेट्रोलियम र ग्यास भारतबाट मात्र आउँछ । चीनसँग पारवहन सम्झौता अगाडि बढेको भए पनि अहिले चीनले नेपाललाई पेट्रोलियम आपूर्ति गर्न सुरु गरिसकेको छैन । नेपालको एकमात्र आपूर्तिकर्ताले विकल्प पाएपछि त्यसको लाभ नेपालले पनि पाउनेछ ।
सोहर पोर्ट ओमानको गल्फ अफ ओमान तटमा अवस्थित छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको यो होर्मुज स्ट्रेटको सबैभन्दा साँघुरो पट्टीभन्दा बाहिर छ। यहाँ पुग्ने सामानलाई समुद्रका साथै सडकमार्ग हुँदै पनि अगाडि पठाउन सकिन्छ। ओमान र युएईबीच बनिरहेको रेल कनेक्सनले पनि भविष्यमा सोहरलाई खाडीका ठूला बजारहरूसँग जोड्न मद्दत गर्नसक्छ।
मध्यपूर्व संकट सुरु भएपछि भारत र सोहरबीच ‘फिडर भेसल सर्भिस’ मा करिब चार गुणा वृद्धि भएको छ। पहिले जुन सामान ठूला जहाजहरूबाट सिधै गल्फ कोअपरेसन काउन्सिल देशहरूसम्म जान्थ्यो, त्यसको एक हिस्सा अब पहिले ओमान पुगिरहेको छ। त्यसपछि यसलाई सडकमार्ग हुँदै अगाडि पठाउने गरिएको छ।
सोहर पोर्ट र फ्रिजोनमा हालसम्म ३० अर्ब डलरभन्दा बढी लगानी भइसकेको छ। बन्दरगाहको वार्षिक कार्गो ह्यान्डलिङ क्षमता ७.२ करोड टनभन्दा बढी छ। २०२६ को पहिलो छ महिनामा यहाँ कन्टेनरको आवतजावत ४० प्रतिशतले बढेर ५.४५ लाख टीईयू पुगेको छ।
सोहर भारतीय कार्गोका लागि मात्रै महत्त्वपूर्ण छैन। साउदी अरेबियाले पनि यहाँबाट कच्चा तेल ओसारपसारको विकल्प खोजिरहेको छ। इरानसँग जोडिएको हुती समूहका आक्रमणका कारण साउदीको इस्ट-वेस्ट पाइपलाइन प्रभावित भएको छ। यो पाइपलाइनले देशका पूर्वी तेल क्षेत्रहरूलाई रातो सागरको यानबुसँग जोड्दछ।
अब साउदीले कच्चा तेललाई सोहरनजिकै समुद्रमा एक ट्यांकरबाट अर्को ट्यांकरमा ट्रान्सफर (स्थानान्तरण) गरिरहेको छ। सेप्टेम्बर र अक्टोबरमा करिब ६ करोड ब्यारेल कच्चा तेल यसरी नै पठाउने योजना छ।
सोहरबाट अगाडि सडकमार्ग हुँदै साउदी अरेबियासम्म सामान पुर्याउने तयारी पनि भइरहेको छ। ओमान र साउदीका कम्पनीहरूले ‘सिक्योर ग्रिन ल्यान्ड करिडोर’ लाई सक्रिय बनाउन सम्झौता गरेका छन्। उता ओमान-युएई रेल कनेक्सन बनेपछि सोहरलाई खाडीको ठूलो लजिस्टिक नेटवर्कसँग जोड्ने बाटो अझ मजबुत हुनसक्छ।
भारतका लागि सोहरको महत्त्व एउटा बन्दरगाहमा मात्र सीमित छैन। होर्मुज आसपास तनाव बढ्ने स्थितिमा यो बन्दरगाहले भारतीय व्यापारलाई खाडीका बजारहरूसम्म पुग्नका लागि एक वैकल्पिक ‘गेटवे’ दिनसक्छ। आउने समयमा यसको भूमिका कत्तिको ठूलो हुन्छ भन्ने कुरा खाडीको स्थिति र यो नयाँ लजिस्टिक नेटवर्कको विस्तारमा निर्भर हुनेछ।