काठमाडौँ : सरकारले नजिकिँदो चाडबाडको समयमा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने भएको छ । सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दसैंं, तिहार, छठजस्ता चाडपर्व र सक्रिय मनसुन ध्यानमा राख्दै सडक यातायात अवरुद्ध हुन नदिने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न सम्बद्ध निकायले जनशक्ति व्यवस्थापन, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्त दुरुस्त राख्ने गरी कार्यतालिका सहित व्यवस्था मिलाउने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।
साथै, बैठकले चाडबाडको समयमा बजारमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।