काठमाडौं । नेपालमा खाना पकाउने एलपीजी ग्यासको आयातमा एकैदिन ४०.८ प्रतिशतले गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार भदौ २५ गतेको तुलनामा भदौ २६ गते एलपीजी ग्यासको आयात उल्लेख्य रूपमा घटेको हो ।
भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन एलपीजी आयात भएकोमा भदौ २६ गते घटेर १ हजार ८२२.३ मेट्रिक टनमा सीमित भएको छ । भदौ २६ गतेको आयातबाट करिब १ लाख २८ हजार ३३२ सिलिन्डर बराबर ग्यास आपूर्ति हुने अनुमान छ । अघिल्लो दिन भने करिब २ लाख १६ हजार ७५४ सिलिन्डर बराबरको एलपीजी भित्रिएको थियो ।
नाकागत रूपमा हेर्दा सबैभन्दा बढी गिरावट मुख्य प्रवेश नाका वीरगञ्जमा देखिएको छ । वीरगञ्जबाट भदौ २५ गते २ हजार १२९.०१ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते घटेर ७९७.१ मेट्रिक टनमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा ६२.६ प्रतिशतको कमी हो ।
त्यस्तै, विराटनगर नाकाबाट अघिल्लो दिन ३४५.१३ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते घटेर ३०६.५ मेट्रिक टन पुगेको छ । मेची नाकाबाट भदौ २६ गते १७.८४ मेट्रिक टन एलपीजी आयात भएको छ भने धनगढी नाकाबाट कुनै पनि मालवाहक गाडी प्रवेश नगरेकाले आयात शून्य रहेको भन्सार विभागले जनाएको छ ।
भैरहवा र नेपालगञ्ज नाकाबाट भने आयातमा केही सुधार आएको छ । भैरहवा नाकाबाट भदौ २५ गते ३३८.०९ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते बढेर ३६४.५ मेट्रिक टन पुगेको छ ।
त्यसैगरी, नेपालगञ्ज नाकाबाट अघिल्लो दिन २४७.८३ मेट्रिक टन भित्रिएकोमा भदौ २६ गते बढेर २८३.० मेट्रिक टन एलपीजी आयात भएको छ ।