काठमाडौं । भारतका विभिन्न सहरमा जोखिमपूर्ण अवस्थामा पुगेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार गरी नेपाल ल्याइएको छ ।
उद्धार गरिएका उनीहरूलाई मंगलबार राति नेपालगञ्ज नाका हुँदै नेपाल ल्याइएको हो ।
भारतस्थित नेपाली राजदूतावासको समन्वय र मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था ‘किन इन्डिया’को पहलमा महाराष्ट्र, दिल्ली र झारखण्डलगायतका स्थानबाट उनीहरूको उद्धार गरिएको हो ।
किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकाहरूमा १५ वर्षमुनिका १२ जना र १५ वर्षभन्दा माथिका ३ जना (५ जना बालिका/किशोरीसहित) रहेका छन् ।
उद्धार गरिएकाहरू मधेश प्रदेशका साथै नवलपरासी (सुस्ता पश्चिम), पाल्पा, कञ्चनपुर र कैलाली लगायत जिल्लाका छन् । उनीहरूलाई मदरसामा पढाउने बहानामा, घरेलु हिंसाका कारण भागेको अवस्थामा वा दिल्लीका रेलवे स्टेसनमा अलपत्र परेको स्थितिमा भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
नेपाल ल्याइएका बालबालिकालाई रूपन्देही पुर्याएर आज (बुधबार) अभिभावक तथा आफन्तको जिम्मा लगाउने कार्यक्रम रहेको छ ।
उद्धार टोलीमा किन इन्डियाका प्रतिनिधि र नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल समेत सहभागी थिए ।