किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ , जोखिम छैन : वडाध्यक्ष गुरुङ

  • मिति : भदौ २४, २०८३
497 Shares

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए ।

“हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको कारणले हो कि भनेर माथि बुझ्न भनेका छौँ, तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा बगेकाले जोखिम देखिदैन । सबै जना ढुक्क भए हुन्छ”, अध्यक्ष गुरुङले भने ।

खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किम्रुङखोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो । जिल्ला प्रहरी कार्यालयले कास्कीका वीरेठाँटी, नयाँपुल तथा पर्वतको पातीचौर र डिमुवा क्षेत्रमा ‘माइकिङ’ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो भने स्थानीयले रातमा घर छाडेर सुरक्षित स्थानमा निस्किएका थिए ।

खोला थुनिएको हुनसक्ने सूचनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो भने घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी परिचालित भएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलहरुमा क्षति पुगेको थियो । त्यसपछि मोदी खोलाको बाढीले अन्नपूर्ण गाउँपालिका चार वडा सिधा सडक सम्पर्कबाट विच्छेद छन् । वीरेठाँटी–घान्द्रुक सडक तीन सातादेखि अवरुद्ध बनेकाले अहिले वीरेठाँटीमा पुनर्निर्माणको काम भइरहेको छ ।