काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही भूभागमा भारी वर्षा

  • मिति : भदौ २४, २०८३
344 Shares

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षा हुँदा केही भूभागमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो मधेसका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभागका एकदुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । भक्तपुरका केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।

“काठमाडौंमा दिउँसोदेखि राति ७/८ बजेसम्म मध्यमसम्मको वर्षा हुनेछ । काठमाडौं उपत्यकाका छेउछाउमा भने भारी वर्षाको पनि सम्भावना छ,” मौसमविद् सञ्जिव अधिकारीले भने ।

राति भने काठमाडौंमा वर्षा केही कम हुने उनको भनाइ छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको विभागले जानकारी दिएको छ ।