काठमाडौं : खसीको भन्दै बाख्राको मासु बेचेको आरापमा काठमाडौँको रातोपुलबाट प्रहरीले ३ जनालाई क्राउ गरेको छ। काठमाडौं महानगरपालिका-८ रातोपुल नजिक सञ्चालित सफिक मासु पसलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा मासु पसल सञ्चालक भारतको सीतामढी घर भएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ हाल काठमाडौं महानगरपालिका- ७ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुर हेटौँडा महानगरपालिका- ३ घर भइ रातोपुल बस्दै आएका २१ वर्षीय सुजन रसाइली रहेका छन्।
उनीहरूले खसीको मासु भनेर किलोको १८ सय रुपैयाँमा बाख्राको मासु बेचेको पाइएको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधार प्रहरी पुग्दा मासु पसलको भित्रपट्टि सटरमा बाख्रा काटेर मासु तयार गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पसलको पछाडि काट्ने तयारीमा राखिएको एउटा जिउँदो बाख्रासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरी बृत गौशालामा राखेर थप अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ।