थाइल्यान्डबाट हुलाकमार्फत मगाइएको गाँजासहित ४ जना पक्राउ

  • मिति : भदौ २१, २०८३
242 Shares

काठमाडौँ । थाइल्यान्डबाट डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालय हुँदै इटहरीमा पुग्नेगरी मगाइएको गाँजा कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ९ मा इटहरी पठाउन लागिएको पार्सलमाथि शङ्का लागेपछि चेकजाँच गर्दा पार्सलमा ९१० ग्राम थाइल्यान्डबाट आएको गाँजा भेटिएको थियो ।

त्यसलाई कन्ट्रोल डेलिभरी गरेर इटहरी पठाइएको र रिसिभ गर्न आएका दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित मिलनपथमा बस्ने १९ वर्षीया जेसिका तामाङ र सोही ठाउँमा बस्ने धनकुटाको छ थर जोरपाटी घर भएकी २५ वर्षीया तारा मगर छिन् । उनीहरूको डेराबाट ब्युरोको टोलीले थप १ केजी थाई गाँजा बरामद गरेको छ ।

उनीहरूसँग गाँजा लिन भारतबाट आएका अरू दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । शुक्रबार ब्युरोको शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुई जना भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको केरलाबाट आएका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आर छन् । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।