नयाँ अवतारमा आउँदै डोङफेङ नामी भिगो E2, अगस्ट १९ मा सार्वजनिक हुँदै

  • मिति : भदौ २, २०८३
531 Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला डोङफेङ नामीको नयाँ इलेक्ट्रिक एसयूभी ‘भिगो E2’ नेपाली बजारमा प्रवेश गर्ने भएको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९, २०२६ मा भिगो E2 लाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीले नयाँ भिगो E2 लाई यसअघिको मोडलभन्दा अझ फराकिलो, आधुनिक र व्यावहारिक ‘फुल एसयूभी’ का रूपमा बजारमा प्रस्तुत गर्ने जनाएको छ। पर्याप्त स्पेस, आधुनिक फिचर र दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मलाई ध्यानमा राखेर नयाँ संस्करण विकास गरिएको कम्पनीको भनाइ छ।

नेपालमा डोङफेङ नामीका सवारी साधनले पछिल्लो समय ग्राहकको राम्रो प्रतिक्रिया पाइरहेका छन्। कम्पनीका अनुसार हालसम्म २ हजारभन्दा बढी नामी गाडी नेपाली सडकमा सञ्चालनमा छन्।

नामी भिगोले आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा देशका चुनौतीपूर्ण गन्तव्यहरूमा समेत यात्रा गरिसकेको छ। मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायतका क्षेत्रमा गरिएको यात्राले कठिन भौगोलिक अवस्थामासमेत यसको व्यावहारिक क्षमता परीक्षण भएको कम्पनीले जनाएको छ।

यिनै अनुभवलाई आधार बनाउँदै नयाँ भिगो E2 मा एसयूभीको पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई थप प्राथमिकता दिइएको छ। दैनिक आवतजावतसँगै लामो यात्राका लागि समेत भरपर्दो विद्युतीय एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी नयाँ मोडल ल्याउन लागिएको हो।

कम्पनीले भिगो E2 को आधिकारिक मूल्य, फिचर तथा अन्य प्राविधिक विवरण अगस्ट १९ मा आयोजना हुने सार्वजनिक कार्यक्रममा घोषणा गर्ने जनाएको छ। नयाँ मोडलको मूiल्य र फिचर सार्वजनिक भएपछि नेपाली ईभी बजारमा यसको प्रतिस्पर्धात्मकता अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

नयाँ भिगो E2 को आगमनसँगै नेपाली बजारमा इलेक्ट्रिक एसयूभीका विकल्प थपिने भएका छन् भने ग्राहकले पनि आधुनिक प्रविधि र एसयूभी अनुभवसहितको नयाँ विद्युतीय सवारी रोज्ने अवसर पाउनेछन्।