१८औँ नाडा अटो शो २०२६ को तयारी तीव्र, २ लाखभन्दा बढी दर्शक आउने अपेक्षा

  • मिति : भदौ २, २०८३
429 Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने १८औँ नाडा अटो शो २०२६ को तयारी तीव्र पारिएको छ। ६ दिनसम्म सञ्चालन हुने बृहत् अटो शोमा २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यस वर्षको नाडा अटो शोमा विभिन्न ब्राण्डका नवीनतम सवारी साधनसँगै विद्युतीय सवारी (ईभी), स्वदेशी उत्पादन तथा अटोमोबाइल कम्पोनेन्ट्सलाई समेत विशेष प्राथमिकता दिइएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा २३ वटा कमर्शियल भेइकल, १७ वटा निजी चारपाङ्ग्रे सवारी साधन तथा १० वटा दुई पाङ्ग्रे सवारी साधनका ब्राण्ड सहभागी हुनेछन्। यसका साथै नेपालमै एसेम्बल गरिएका दुई पाङ्ग्रे सवारी साधन, हेल्मेट, लुब्रिकेन्ट आयल, टायर तथा विभिन्न अटो पार्टपुर्जाको समेत प्रदर्शनी गरिनेछ।

यसपटकको मुख्य आकर्षणका रूपमा नेपालमै डिजाइन तथा निर्माण गरिएको ‘यात्री’ इलेक्ट्रिक मोटरसाइकललाई राखिएको छ। नाडा अटो शोका सभापति अनुपकुमार बरालका अनुसार स्वदेशी प्रविधि र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यात्री मोटरसाइकलको सहभागितालाई विशेष महत्व दिइएको हो।

अटो शोमा सवारी साधनका नयाँ मोडल, विद्युतीय प्रविधि, अत्याधुनिक फिचर तथा अटोमोबाइल क्षेत्रमा भइरहेका पछिल्ला विकासबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ। सवारी पारखी, व्यवसायी तथा उपभोक्ताका लागि नयाँ सवारी साधन र प्रविधिबारे जानकारी हासिल गर्ने महत्वपूर्ण अवसरका रूपमा यसलाई हेरिएको छ।

नाडाका अनुसार प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र स्वदेशी उत्पादनप्रति आकर्षण बढाउन समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

१८औँ नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।