मस्तिष्क मृत्युबाट हुने अङ्गदान प्रभावकारी बनाउन ‘काठमाडौं घोषणा’

  • मिति : साउन २८, २०८३
208 Shares

ललितपुर ।  विश्व अङ्गदान दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले नेपालमा मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई प्रभावकारी, व्यवस्थित र व्यापक बनाउनुपर्नेमा जोड दिएको छ।

ललितपुरमा आयोजित कार्यक्रममा चिकित्सक, अङ्ग प्रत्यारोपण विशेषज्ञ, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, अङ्ग प्रत्यारोपण गराएका व्यक्ति, अङ्गदाता परिवार तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालमा अङ्ग प्रत्यारोपणको वर्तमान अवस्था, मस्तिष्क मृत्युबाट हुने अङ्गदानको सम्भावना, कानुनी व्यवस्था, अस्पतालकोु भूमिका, जनचेतना र धार्मिक मान्यताबारे छलफल गरिएको थियो।

नेपालमा अङ्ग प्रत्यारोपणको सम्भावना बढ्दो

अङ्ग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा पछिल्लो दुई दशकमा अङ्ग प्रत्यारोपण सेवामा उल्लेख्य प्रगति भएको बताउनुभयो। उहाँका अनुसार नेपालमा सन् २००८ मा मिर्गौला र सन् २०१६ मा कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो। हालसम्म करिब तीन हजार जनाको मिर्गौला र ७५ जनाको कलेजो प्रत्यारोपण भइसकेको उहाँले जानकारी दिनुभयो।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अङ्गदानलाई प्रत्यारोपण सेवाको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै डा. श्रेष्ठले एक जना मृत अङ्गदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिने बताउनुभयो।

नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृत अङ्गदाताबाट मात्र २३ वटा ठोस अङ्ग प्रत्यारोपण सम्भव भएको उहाँले जानकारी दिनुभयो। तीमध्ये १७ वटा मिर्गौला, पाँचवटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण भएको छ।

उहाँले जनचेतना मात्र पर्याप्त नभई सम्भावित अङ्गदाता पहिचान, समयमै मस्तिष्क मृत्यु घोषणा, परिवारसँग समन्वय, अङ्ग संकलन तथा प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार र संयन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

जनचेतना र अस्पतालको भूमिका महत्वपूर्ण

कार्यक्रमका वक्ताहरूले अङ्गदानबारे पर्याप्त जनचेतना नहुँदा नेपालमा उपलब्ध सम्भावना उपयोग हुन नसकेको बताएका छन्। नसर्ने रोगको भार बढ्दै जाँदा मिर्गौला, कलेजोलगायतका अङ्ग फेल हुने समस्या बढिरहेको उल्लेख गर्दै अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीका लागि दाता अभाव प्रमुख चुनौती रहेको बताइएको थियो।

मृत्युपछि खरानी भएर जाने अङ्ग दान गरेर अरूको जीवन बचाउन सकिने भएकाले अङ्गदानलाई सामाजिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।

वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले मस्तिष्क मृत्युबारे समाजमा अझै भ्रम रहेको बताउनुभयो। मस्तिष्क मृत्यु भएपछि पनि बिरामी बाँच्न सक्ने अवस्था रहेको गलत बुझाइका कारण परिवारलाई अङ्गदानका लागि सहमत गराउन कठिन हुने उहाँको भनाइ थियो।

सम्भावित मस्तिष्क मृत्यु भएका बिरामीको समयमै पहिचान गरी सम्बन्धित संयन्त्रलाई जानकारी गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो। आवश्यक परीक्षण, दक्ष जनशक्ति र पूर्वाधारको अभावमा विशेषगरी निजी स्वास्थ्य संस्थामा मस्तिष्क मृत्यु पहिचान तथा अङ्गदान प्रक्रिया चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

‘अङ्गदान मानव सेवाको महान कार्य’

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अङ्गदान मानव सेवाको महान कार्य भएको बताउनुभयो। मृत्युपछि पनि अरूलाई जीवन दिन सकिने भएकाले अङ्गदानको महत्व समाजले बुझ्नुपर्ने उहाँको भनाइ थियो।

वरिष्ठ चिकित्सक डा. भोला रिजालले अङ्गदानलाई स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। चिकित्सक, सञ्चारमाध्यम, नागरिक समाज र राज्य सबैको सहकार्यबाट अङ्गदानप्रति सकारात्मक सोच विकास गर्न सकिने उहाँले बताउनुभयो।

गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले अङ्गदानको संस्कृति विकास गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। समाज परिवर्तनका लागि निरन्तर जनचेतना र सकारात्मक सन्देश प्रवाह आवश्यक रहेको उहाँको भनाइ थियो।

धर्म अङ्गदानको बाधक होइन

कार्यक्रममा हिन्दु, बौद्ध र मुस्लिम धर्मगुरुले धार्मिक दृष्टिले अङ्गदान गर्न रोक्ने व्यवस्था नरहेको स्पष्ट पार्नुभयो। भिक्षु कोण्डन्य, हिन्दु गुरु चिन्तामणि योगी तथा मुस्लिम धर्मगुरु काजी अबुबकर सिद्दिकी कास्मी नले मानव जीवन बचाउने र पीडितलाई सहयोग गर्ने कार्य भएकाले अङ्गदानलाई धर्मको मूल भावना विपरीत मान्न नहुने धारणा राख्नुभयो।

अङ्गदाता परिवारलाई सम्मान

कार्यक्रममा मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवार तथा अङ्गदान प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समन्वयकर्तालाई सम्मान गरिएको थियो। अङ्गदाता परिवारतर्फबाट सारु कोजु, तारा सन्त र बन्धना कार्कीलगायतलाई सम्मान गरिएको थियो।

अङ्ग प्रत्यारोपण गराएका शिव महर्जन र मीना बश्यालले आफ्ना अनुभव सुनाउँदै मस्तिष्क मृत्यु भएका दाताबाट प्राप्त अङ्गले आफूहरूलाई नयाँ जीवन दिएको बताउनुभयो। उहाँहरूले अङ्गदाता परिवारप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

काठमाडौं घोषणा’ जारी

कार्यक्रममा मस्तिष्क मृत्युबाट हुने अङ्गदान बढाउने विषयमा सरोकारवालाबीच गोलमेच छलफलसमेत गरिएको थियो। छलफलबाट सार्वजनिक जनचेतना विस्तार, अस्पतालको भूमिका सुदृढीकरण, स्वास्थ्य मन्त्रालयका लागि नीतिगत सुझाव, ट्राफिक प्रहरी तथा सञ्चारमाध्यमसँग सहकार्य र नागरिकलाई अङ्गदानका लागि प्रतिबद्ध गराउने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने सुझाव अघि सारिएको छ।

कार्यक्रमको समापनमा मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई प्रभावकारी बनाउन विभिन्न पक्षबीच सहकार्य गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं घोषणा’ अपनाइएको छ।

स्वास्थ्य अभियान नेपालले अङ्गदानलाई सामाजिक संस्कारका रूपमा विकास गर्ने, अङ्ग असफलताबाट पीडित व्यक्तिलाई आवश्यक सहयोग पुर्‍याउने तथा अङ्गदानसम्बन्धी नीतिगत सुधारका लागि निरन्तर पैरवी गर्ने जनाएको छ।