पत्रकार श्रेष्ठको पक्राउविरूद्व लालटिन बालेर प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

  • मिति : साउन २८, २०८३
310 Shares

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विना शर्त रिहाइको माग गर्दै पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडी प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकार श्रेष्ठलाई विना शर्त रिहाइ गर्नुपर्ने भन्दै काठमाडौं परिसर अगाडी लालटीन देखाएर विरोध प्रदर्शन गरिएको हो । काठमाडौं प्रहरी परिसर अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले रोकेको थियो । त्यसपछि पत्रकारहरु प्लेकार्ड प्रदर्शन गर्दै कालोपट्टी बाधेर परिसर बाहिर धर्नामा बसेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रता पुनर्वहाली गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्रौ, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारले समाचारको स्रोत खुलाउनु नपर्ने र अदालतले समेत स्रोत जबरजस्ती माग्न वा जफत गर्न नमिल्ने कानुनी तथा अन्तर्राष्ट्रिय मान्यता रहेकामा समाचार लेखकै आधारमा पक्राउ गर्नु उचित नभएको बताइन् । उनले सरकारले संविधान, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको उल्लेख गरेकी छिन् ।

उनले संविधान र विधि मान्न तयार नभएको भन्दै गृहमन्त्री तथा प्रधानमन्त्रीको राजीनामा माग गरिन् । महासंघले यस कदमको घोर भत्र्सना गर्दै कानुनी लडाइँ र सडकबाट खबरदारी गर्ने जनाएको छ । प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने कार्य नरोकिए राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको छ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार राती पक्राउ गरेको थियो ।