चीनमा समुद्री आँधीका कारण ८ जनाको मृत्यु

  • मिति : असार २३, २०८३
378 Shares

बेइजिङ । चीनको मध्य भागमा आएको टोर्नाडो र भीषण वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दक्षिणी चीनका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेपछि उद्धार टोलीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेका छन् ।

मौसमविद्हरूले यस वर्ष चीनले भारी वर्षा, आँधी, बाढी र अन्य भू–प्राकृतिक विपद्का कारण जटिल चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन् । हुबेई प्रान्तको आपत्कालीन व्यवस्थापन विभागका अनुसार सोमबार राति प्रान्तका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीसहित वर्षा भएको थियो । प्रान्तको पूर्वी सहर ह्वाङगाङमा मात्र १७३ जना घाइते भएका छन् ।

साथै २६९ जनालाई होटल तथा आफन्तका घरमा सुरक्षित रूपमा सारिएको स्थानीय प्रशासनले जनाएको छ । टोर्नाडोका कारण घरका छाना, सडक, रुख तथा खेतीयोग्य जमिनमा व्यापक क्षति पुगेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा स्थानीय बासिन्दाहरूले तीव्र हावाहुरीका बीच पसलका ढोका थामेर जोगाउने प्रयास गरिरहेका देखिन्छन् । त्यस्तै छाता, कुर्सी र रुखका हाँगाहरू हावाले उडाएर सडकभरि छरिएको दृश्य पनि देखिएको छ । मौसमविद्हरूका अनुसार यो हुबेई प्रान्तमा पछिल्ला केही वर्षयता आएको पहिलो टोर्नाडो हो ।

आपतकालीन व्यवस्थापन विभागले प्रान्तभर ३ हजार ५ सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जनाएको छ । उनीहरूले उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन् ।