काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको नाडा अटो शो २०२६ को तयारी तीव्र पारिएको छ। यस वर्षको अटो शोलाई अघिल्ला संस्करणभन्दा थप समावेशी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने लक्ष्यका साथ आयोजकले विभिन्न तयारीलाई अन्तिम चरणमा पुर्याइरहेको जनाएको छ।
नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल क्षेत्रप्रति व्यवसायीहरूको आकर्षण निरन्तर बढ्दै गएको बताउँदै हाल एसोसिएसनमा थप २६ कम्पनी सदस्यका रूपमा आबद्ध भएको जानकारी दिए। उनका अनुसार नयाँ सदस्यहरूको सहभागिताले नेपालको अटोमोबाइल उद्योगको विस्तार, प्रतिस्पर्धा र लगानीको वातावरण थप सुदृढ हुँदै गएको संकेत गरेको छ।
यस वर्षको अटो शोमा नेपालमा उपलब्ध आधुनिक सवारी साधन, विद्युतीय गाडी, दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनसहित विभिन्न विधाका ५३ वटा ब्रान्ड सहभागी हुनेछन्। नयाँ मोडल, अत्याधुनिक प्रविधि तथा ग्राहकमैत्री सुविधासहितका सवारी साधनहरू प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको विश्वास छ।
नाइमा अटो शो २०२६ का संयोजक गौरव सारडाका अनुसार यस पटक प्रदर्शनीलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने विशेष व्यवस्था गरिएको छ। प्रदर्शनीका सबै हलहरू ह्विलचेयरमैत्री बनाइने भएकाले शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूले पनि सहज रूपमा सबै स्टलको अवलोकन गर्न सक्नेछन्। उनले समावेशी आयोजना नै यस संस्करणको प्रमुख विशेषता हुने बताए।
कार्यक्रमको सह–प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ। बैंकका डीसीईओ सुमन पोखरेलले पछिल्लो समय ग्राहकहरू प्रविधियुक्त, सुरक्षित, वातावरणमैत्री र आधुनिक सुविधासम्पन्न सवारी साधनप्रति आकर्षित भइरहेको बताए। उनले अटो शोमा आउने ग्राहकका लागि बैंकले विशेष अटो कर्जा योजना, आकर्षक ब्याजदर, सहज वित्तीय सेवा तथा विभिन्न अफरहरू सार्वजनिक गर्ने जानकारी दिए।
आयोजकका अनुसार नाडा अटो शो २०२६ केवल नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभई नेपालमा विकसित हुँदै गएको अटोमोबाइल प्रविधि, नवप्रवर्तन, हरित यातायात र आधुनिक जीवनशैलीको उत्सवका रूपमा आयोजना हुँदैछ। यस प्रदर्शनीले उत्पादक, आयातकर्ता, वित्तीय संस्था, व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराउने, नयाँ प्रविधिको जानकारी दिने तथा अटोमोबाइल बजारलाई थप गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नाइमाले यस वर्षको अटो शोले नेपाली अटोमोबाइल उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै विद्युतीय सवारी साधन र अत्याधुनिक प्रविधिप्रति उपभोक्ताको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।