काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले राखेका दुई विषय आफूले पूरा गर्न नसक्ने बताएका छन् । कांग्रेसको संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्दै सभापति थापाले १४ औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समायोजन गर्ने र अद्यावधिक नगर्ने विषयलाई आफूले स्विकार्न नसक्ने स्पष्ट पारे ।
‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगरीकन चलाऊँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाप हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ,’ थापाले भने ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा।शेखर कोइराला समूहले १११ केन्द्रीय सदस्य समायोजित गर्नुपर्ने र क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गर्न नहुने माग राख्दै आएका छन् ।