एमाले शीर्ष नेताहरुप्रति सूर्य थापाको कटाक्ष– फेसबुक वाल रंगाउनु जरूरी छैन, संयमित बनौँ

  • मिति : असार १, २०८३
242 Shares

काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूले नै गरिरहेको टिकाटिप्पणीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा छोटो टिप्पणी लेख्दै केन्द्रीय सदस्य थापाले पार्टीका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

पार्टीको आन्तरिक विषयलाई लिएर सामाजिक सञ्जालमा उच्च तहका नेताहरुले नै कार्यकर्तालाई उत्तेजित पार्ने टिप्पणीहरु गरिरहेको बेला थापाले यस्तो टिप्पणी आएको हो ।

‘योजनाबद्ध रूपमा उत्तेजित पार्न ‘लोभीपापी’ नामाकरण र प्रचारबाट तरंगित भएर पार्टीका उपाध्यक्ष, महासचिव र उपमहासचिवले वाल रंगाउनु जरूरी छैन । संयमित बनौँ !’ थापाले लेखेका छन् ।

पार्टी र नेतृत्वलाई कमजोर बनाउन योजनाबद्ध रूपमा उत्तेजित पार्न केहीले ‘लोभीपापी’ नामाकरण र प्रचार गरेको संकेत गर्दै थापाले नेताहरुलाई त्यसबाट तरंगित भएर सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न र संयमित हुन सुझाव दिएका हुन् ।