बुटवल : कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) नेता मङ्गलप्रसाद गुप्ताको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले जनकारी दिए ।
८० वर्ष नाघेका गुप्ता लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय थिए । उनी २०३९ सालदेखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा पनि पटक–पटक निर्वाचन लडेका गुप्ताले पछिल्लो पटक २०७९ सालको निर्वाचनमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए।
गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कपिलवस्तुको कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी रहेको एमाले जिल्ला अध्यक्ष खनालले बताए। स्वर्गीय गुप्ताका श्रीमती र चार छोरा छन्।