काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ । ती प्रदेशको तराईका भू-भागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ । अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार जारी तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिनमा जेठ ६ गतेदेखि तराई केही भू-भागमा तापक्रम तीव्र रूपमा बढेको जनाइएको छ ।
अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांशपेसीहरु दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या देखिनसक्ने चिकित्सकको भनाइ छ । तातो हावाको लहरबाट बच्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाटा ओढ्न वा पातलो कपडाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ ।
यस्तै खुकुलो, शीलत हुने हल्का रङको कपडा लगाउने, पानी धेरै पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउन प्राधिकरणले अनुरोध गरेको छ ।