एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक

  • मिति : जेष्ठ ७, २०८३
854 Shares

काठमाडौं । एलन मस्कको रकेट तथा भू–उपग्रह कम्पनी स्पेसएक्सले बुधबार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ । सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलोपटक प्रस्तुत गरेको हो ।

सार्वजनिक निष्कासनलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आइपीओका रूपमा हेरिए पनि कम्पनीले कति रकम सङ्कलन गर्न खोजेको र यसको मूल्याङ्कन कति हुनेछ भन्ने कुरा भने खुलाएको छैन । जसको घोषणा सेयर निष्कासन हुनु ठीक अघि गरिनेछ । कम्पनीले आफ्नो व्यवसाय सञ्चालनका बारेमा २७७ पृष्ठ लामो विस्तृत विवरण सार्वजनिक गरेको छ, जसअनुसार एलन मस्क कम्पनीको अध्यक्ष र मुख्य सञ्चालन अधिकृत (सीओओ) ग्विन सटवेल निर्देशकका रूपमा रहेका छन् ।

स्पेसएक्सले आफ्नो विवरणपत्रमा जीवनलाई बहु–ग्रहीय बनाउने, ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने र चेतनाको प्रकाशलाई ताराहरूसम्म फैलाउने महत्त्वाकाङ्क्षी उद्देश्य राखेको छ । यो लक्ष्य हासिल गर्न कम्पनीले आफ्ना स्टारलिंक सञ्चार प्रविधिलाई थप सबल बनाउन भूउपग्रहहरूको द्रुत उत्पादन र प्रक्षेपणलाई निरन्तरता दिने तथा सूर्यको ऊर्जा प्रयोग गरी वैज्ञानिक खोजलाई बढावा दिने सत्य–खोजकर्ता आर्टिफिसियल इन्टेलिजेन्सको विकास गर्ने योजना बनाएको छ । अन्ततः चन्द्रमामा आधार शिविर र अन्य ग्रहहरूमा सहरहरू बसाउने कम्पनीको लक्ष्य छ ।

यस आईपीओले ठूलो मात्रामा पूँजी भित्र्याउने र मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर (खर्बपति) बनाउन सक्ने अनुमान गरिएको छ । स्पेसएक्सको एआई क्षमतामा रहेको विश्वासकै कारण मस्कले गत फेब्रुअरीमा स्पेसएक्सलाई आफ्नो एआई र सामाजिक सञ्जाल कम्पनी एक्सएआईसँग गाभेका थिए । जसले गर्दा एकीकृत कम्पनीको मूल्याङ्कन त्यतिबेलै १.२५ ट्रिलियन अमेरिकी डलर पुगेको थियो ।

कम्पनीमा मस्कको ठूलो हिस्सा रहेको छ, साधारण सेयरमा १२.३ प्रतिशत र प्रतिसेयर १० भोटको अधिकार रहने क्लास बी सेयरमा ९३.६ प्रतिशत स्वामित्वका साथ मस्कले कम्पनीको कुल भोटिङ पावरको ८५.१ प्रतिशत नियन्त्रण गर्छन, जसले आईपीओ पछि पनि कम्पनीमा उनको एकल नियन्त्रण सुनिश्चित गर्दछ ।

यस्तै, भालोर एन्टिटिजमार्फत ७.३ प्रतिशत साधारण सेयरका साथ ग्रासियस कम्पनीको दोस्रो ठूलो सेयरधनी रहेका छन् । वित्तीय अवस्थाको कुरा गर्दा, स्पेसएक्सले गत वर्ष १८.७ बिलियन डलर आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत बढी हो । यद्यपि, कम्पनी अझै नाफामा जान सकेको छैन । सन् २०२४ मा ७९१ मिलियन डलर नाफा कमाएको कम्पनी सन् २०२५ मा ४.९ बिलियन डलरको नोक्सानीमा गएको थियो, जबकि सन् २०२३ मा यसले ४.६ बिलियन डलर गुमाएको थियो ।

यो नोक्सानी सन् २०२६ मा पनि जारी रहने निश्चित देखिएको छ, किनकी कम्पनीले यस वर्षको पहिलो तीन महिनामै ४.७ बिलियन डलरको आम्दानीमा ४.३ बिलियन डलर नोक्सान व्यहोरिसकेको छ । गत वर्ष कम्पनीले कुल २०.७ बिलियन डलर खर्च गरेको थियो, जसको ठूलो हिस्सा (१२.७ बिलियन डलर) एआई प्रविधिमा लगानी गरिएको थियो । यसबाहेक स्टारलिङ्कमा ४.२ बिलियन डलर र रकेट लगायतका अन्य अन्तरिक्ष अभियानमा ३.८ बिलियन डलर खर्च भएको थियो ।

यो पूँजीगत खर्च सन् २०२४ को ११.२ बिलियन डलरभन्दा झण्डै दोब्बर हो र सन् २०२३ को ४.४ बिलियन डलरको तुलनामा निकै बढी हो । यस वर्षको पहिलो तीन महिनामै कम्पनीले १०.१ बिलियन डलर खर्च गरिसकेको छ, जसमा ७.७ बिलियन डलर एआईमा मात्र खर्च भएको छ । यति ठूलो नोक्सानीका बावजुद स्पेसएक्सले भविष्यमा सधै घाटामा नरहने दाबी गरेको छ ।

कम्पनीले आगामी दिनमा २८.५ ट्रिलियन डलर बराबरको ठूलो आम्दानीको अवसर रहेको औंल्याएको छ, जसलाई स्पेसएक्सले ‘मानव इतिहासकै सबैभन्दा ठूलो र कार्ययोग्य बजार अवसर’को रूपमा व्याख्या गरेको छ ।