हापुरमा भयानक दुर्घटना, दुई महिलासहित एक बालकको मृत्यु

  • मिति : बैशाख २७, २०८३
616 Shares

नयाँ दिल्ली : उत्तर प्रदेशको हापुर जिल्लाको गंगा एक्सप्रेसवेमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा आठ महिनाको बच्चा र दुई महिलाको मृत्यु भएको छ । प्रहरीले शवहरू सङ्कलन गरेर अनुसन्धान सुरु गरेका छन् ।

प्रहरीका अनुसार दुर्घटना बिहान ३ बजेतिर जखेरा रेहमत गाउँ नजिकै भएको थियो । बरेलीबाट लुधियाना जाँदै गरेको क्यान्टर अचानक नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किएको जनाइएको छ ।

ठक्करबाट गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ । क्यान्टरमा यात्रा गरिरहेका दुई महिला र एक आठ महिनाको बच्चाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयवासीले घटना भएलगत्तै प्रहरीलाई जानकारी गराएका थिए । त्यसलगत्तै बहादुरगढबाट प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गर्ने प्रयास गरेका थिए ।

प्रहरीले शव पोस्टमार्टमको लागि पठाएका छन् । प्रारम्भिक अनुसन्धानले चालक निदाएको वा तीव्र गतिमा गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने देखाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको र मृतकको पहिचान गर्न परिवारलाई जानकारी गराउने कार्य भइरहेको बताएको छ ।