बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने युवतीसहित ६ जना पक्राउ

  • मिति : बैशाख २७, २०८३
837 Shares

पोखरा : पोखराको बागलुङ बसपार्कमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा उक्त झै-झगडाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा पोखरा-१३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार र गोरखा घर भई सोही ठाउँ बस्ने ३० वर्षीय ‘दिपेश’ भनिने दिलेराम गुरुङ रहेका छन्। यस्तै, बागलुङ बसपार्क क्षेत्रमा बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहबिच झै-झगडा हुनुको मुख्य कारण लागुऔषध कारोबार रहेको खुलेको छ। उक्त घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए।