मस्को । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र कयौं युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरिरहेका बेला रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
रुसले पोल्टाभा सहरमा आक्रमण गरेको रिपोर्ट पाएको सो क्षेत्रका गभर्नरले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । आक्रमणका कारण घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणमा विद्युत् कार्यालयहरूमा पनि क्षति पुर्याएको बताइएको छ ।
आक्रमणमा कुनै हताहतको रिपोर्ट भने नआएको समाचारमा उल्लेख छ । तर लुब्नी जिल्लामा लगभग १ हजार ५०० घर र ११९ व्यावसायिक केन्द्रहरूमा बिजुली आपूर्ति बन्द भएको गभर्नरले बताए । युक्रेनी ड्रोन आक्रमणमा भोल्गोग्राडको एक रिफाइनरी र अस्पतालको छानामा आगलागी भएको रुसको दक्षिणपश्चिमी प्रशासनले बताएको छ ।
रुसी सेनाले यो ड्रोन नष्ट गरेको पनि बताइएको छ । भोल्गोग्राड जाने र त्यहाँबाट उड्ने उडानहरू राति लगभग तीन घण्टा रोकिएको रुसको नागरिक उड्डयन प्राधिकरणले टेलिग्राममा भनेको छ ।