बेलायत र माल्दिभ्स भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी

  • मिति : साउन ७, २०८२
2.3K Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार बेलायत र माल्दिभ्स भ्रमणका लागि निस्किएका छन् । भ्रमणका लागि प्रस्थान गर्नुअघि उनले दुवै देशसँगको सम्बन्धबारे महत्त्वपूर्ण टिप्पणी गरेका थिए । तीन दिने यो भ्रमण जुलाई २३ देखि २६ सम्म सञ्चालन हुनेछ । ‘भारत र बेलायतले व्यापक रणनीतिक साझेदारी साझा गरेका छन्, जसले हालका वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ । हाम्रो सहयोग व्यापार, लगानी, प्रविधि, नवप्रवर्तन, रक्षा, शिक्षा, अनुसन्धान, दिगोपना, स्वास्थ्य र जनसम्पर्क लगायत धेरै क्षेत्रहरूमा फैलिएको छ ।’ प्रधानमन्त्री मोदीले भने ।

यस अवधिमा प्रधानमन्त्री मोदीले बेलायतका प्रधानमन्त्री केयर स्टारमरलाई भेट्नेछन् । ‘बेलायती प्रधानमन्त्रीसँगको मेरो भेटमा, हामीले हाम्रो आर्थिक साझेदारीलाई अझ बलियो बनाउने अवसर पाउनेछौँ, जसको उद्देश्य दुवै देशमा समृद्धि, विकास र रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्नु हो ।’ अझ अगाडि उनले भने । बेलायत पछि, मोदी माल्दिभ्स जानेछन् । उनी माल्दिभ्सको स्वतन्त्रता दिवसको ६० औं वार्षिकोत्सवमा आयोजित समारोहमा भाग लिन यहाँ जान लागेका हुन् ।

उनले भने, ‘माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको निमन्त्रणामा म त्यहाँ जाँदैछु । यो हाम्रो द्विपक्षीय कूटनीतिक सम्बन्धको ६० वर्ष पनि हो । म राष्ट्रपति मुइज्जु र अन्य नेताहरूलाई भेट्नेछु र आर्थिक तथा समुद्री सुरक्षा साझेदारीलाई अगाडि बढाउने दिशामा काम गर्नेछु ।’ यस भ्रमणले आफ्ना जनतालाई फाइदा पुर्‍याउने र ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउने आशा उनले व्यक्त गरेका छन् ।