बाढीपीडित पर्यटन व्यवसायीको पुनःस्थापनामा होटल व्यवसायी महासंघको पहल, एफएनसीसीआईमा बुझाइयो क्षतिको प्रारम्भिक विवरण

  • मिति : अशोज ५, २०८३
378 Shares

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजाघरमा व्यापक क्षति पुगेपछि प्रभावित पर्यटन व्यवसायीको पुनरुत्थान र पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल तीव्र बनाएको छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा एफएनसीसीआई पर्यटन समितिका पदाधिकारीसँग भेट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरको प्रारम्भिक क्षतिको विवरण र नामावली औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

एफएनसीसीआई पर्यटन समितिले आयोजना गरेको विशेष बैठकमा अध्यक्ष भण्डारीले प्रभावित क्षेत्रमा उद्धार तथा तत्काल राहतका कार्य अघि बढे पनि क्षतिग्रस्त साना तथा मझौला पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको बताए।

महासंघले बाढीबाट विस्थापित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज तथा अनुदानको व्यवस्था गर्नुपर्ने माग गरेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गर्नुपर्ने, बीमा गरेका व्यवसायीको दाबी रकम तत्काल भुक्तानी गराउनुपर्ने तथा बीमाको पहुँचबाहिर रहेका ग्रामीण क्षेत्रका साना होटल तथा खाजाघरलाई क्षतिको मूल्यांकनका आधारमा विशेष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग महासंघले अघि सारेको छ।

अध्यक्ष भण्डारीले प्रस्तुत गरेको क्षतिको विवरण तथा मागप्रति एफएनसीसीआई अध्यक्ष श्रेष्ठ र पर्यटन समितिले समर्थन जनाउँदै प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बीमा दाबी भुक्तानी तथा वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।

महासंघले विपद्बाट प्रभावित साना तथा मझौला पर्यटन व्यवसायीको व्यावसायिक सुरक्षा र पुनःस्थापनाका लागि निरन्तर पहल गर्ने जनाएको छ।