भोटेकोशी बाढीपीडितका लागि पठाइने राहत खाद्य सामग्रीको खाद्य विभागद्वारा अनुगमन

  • मिति : अशोज ५, २०८३
378 Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ।

विभागले २०८३ असोज २ र ३ गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा राखिएका राहत सामग्रीको निरीक्षण गरेको हो। अनुगमनका क्रममा राहतका लागि पठाउन तयारी अवस्थामा राखिएका विभिन्न खाद्य सामग्रीको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अवस्थाबारे जाँच गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा सनफ्लावर तेल, तयारी चाउचाउ, बिस्कुट, तोरीको तेल, ओट्स, ताईचीन चिउरा, कुकिजलगायतका खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको थियो। विभागका अनुसार ती सामग्रीको लेबलमा ब्याच नम्बर तथा उत्पादन वा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख गरिएको पाइएको छ।

विभागले खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ। साथै, राहतका रूपमा वितरण गरिने खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता कायम राख्न सम्बन्धित पक्षलाई सचेत गराइएको जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनमा राहत सामग्री राखिएको एक स्थान निरीक्षण गरिएको विभागले जनाएको छ। अनुगमनसम्बन्धी विवरण वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३ असोज ५ गते प्रमाणित गरेकी छन्।