भोटेकोसी बाढीबाट अटोमोबाइल क्षेत्रमा ठूलो क्षति, राहत तथा सहजीकरणमा नाडाको पहल

  • मिति : अशोज ६, २०८३
123 Shares

काठमाडौं । हालै भोटेकोसीमा आएको विनाशकारी बाढी तथा डुबानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति हुनुका साथै अटोमोबाइल क्षेत्रमा समेत गम्भीर असर परेको छ।

अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधार, गोदाम तथा सवारीसाधनमा व्यापक क्षति पुगेकोप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस दुःखद् अवस्थामा प्रभावित सदस्य तथा सम्पूर्ण अटोमोबाइल व्यवसायीको साथमा संस्था रहेको नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताएका छन्।

बाढी तथा डुबानका कारण भन्सार नाकामा रोकिएका तथा विभिन्न स्थानमा राखिएका आयातित सवारीसाधनमा क्षति पुगेको छ भने कतिपय सवारीसाधन बाढीले बगाएर हराएका छन्। व्यवसायीका गोदाम, कार्यस्थल, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी नाडाले जनाएको छ।

प्रभावित व्यवसायीलाई तत्काल राहत तथा सहजीकरण उपलब्ध गराउन नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था र भन्सार कार्यालयसँग उच्चस्तरीय पहल सुरु गरेको जनाएको छ।

नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई बाढीबाट क्षति भएका वा हराएका सवारीसाधनको संख्या तथा प्रकार, सम्बन्धित भन्सार नाका वा स्थान, भौतिक संरचनामा भएको क्षति, बीमा दाबीसम्बन्धी कागजात, बैंक ऋणको विवरणलगायत प्रत्यक्ष व्यावसायिक क्षतिको प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।

प्राप्त विवरणका आधारमा क्षतिको एकीकृत अभिलेखीकरण गरी बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन बीमा कम्पनीसँग समन्वय गरिने नाडाले जनाएको छ। भन्सार क्षेत्रमा हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समेत सहजीकरण गरिनेछ।

त्यसैगरी, प्रभावित व्यवसायीको वित्तीय भार कम गर्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पुनर्संरचना तथा भुक्तानी अवधि पुनरावलोकनका लागि आवश्यक पहल गर्ने नाडाले जनाएको छ।

समग्र अटोमोबाइल क्षेत्रमा भएको क्षतिको वास्तविक विवरण सरकार तथा सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्दै आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गरिने नाडाले जनाएको छ। यसका लागि छिट्टै विशेष ‘समन्वय तथा सहजीकरण समिति’ गठन गर्ने तयारीसमेत भइरहेको छ।

नाडाले संकटको यस समयमा धैर्य धारण गर्न तथा प्रभावित व्यवसायीलाई यथाशीघ्र क्षतिको विवरण उपलब्ध गराई राहत तथा सहजीकरण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।