काठमाडौं । नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि टोयोटाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले टोयोटा मोटर एसिया तथा टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त रकम कोषमा योगदान गरेको जनाएको छ।
विपद्का कारण प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले गरिएको उक्त योगदानमार्फत टोयोटा समूहले संकटका समयमा नेपाल र नेपाली समुदायसँग साथमा रहने प्रतिबद्धता दोहोर्याएको जनाएको छ।
यूटीएसका अनुसार प्राकृतिक विपद्पछि राहत, पुनःस्थापना तथा प्रभावित समुदायलाई सहयोग पुर्याउन यो योगदानले भूमिका खेल्नेछ। कम्पनीले नेपाललाई थप बलियो र विपद् प्रतिरोधी बनाउन आवश्यक सहयोग तथा सहकार्यमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।