कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल

  • मिति : कार्तिक ३०, २०८३
446 Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् । पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका हुन् ।

उनले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक र व्यावहारिक दृष्टिकोणबाट उजागर गरेको उल्लेख गरे । कृतिले विभिन्न विचारोत्तेजक भावना, ऐतिहासिक कालखण्डका व्यक्तित्वको विचार, विभिन्न सम्प्रदाय, आस्था तथा दर्शनलाई समेटिएको अध्यक्ष दाहालको भनाइ थियो ।

वैचारिक, दार्शनिक र भावनात्मक पक्षलाई समेटेर तयार पारिएको पुस्तकले व्यक्ति, समाज र राष्ट्र निर्माणमा कर्मको भूमिकालाई विशेष प्राथमिकता दिएको उनले बताए । पुस्तकले कर्मलाई केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई सामाजिक दायित्व निर्वाह गर्ने आधारका रूपमा व्याख्या गरेको अध्यक्ष दाहालको भनाइ थियो । भौतिक तथा मानसिक श्रम विना जीवन र समाजको विकास सम्भव नहुने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले मानिस जन्मिएदेखि मृत्युसम्म कुनै न कुनै कर्ममा सङ्लग्न रहने भएकाले जीवनको प्रत्येक गतिविधि कर्मसँग जोडिएको उल्लेख गरेका छन् । गतिशीलता विना विकास सम्भव नहुने र श्रम तथा निरन्तर प्रयासबाट मात्रै व्यक्ति, समाज र राष्ट्रमा सकारात्मक रूपान्तरण ल्याउन सकिने विषयलाई पुस्तकले जोड दिएको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समाजको हितका लागि कर्मलाई अगाडि बढाउनुपर्ने बताए ।

उनले नकारात्मक सोच, घृणा र द्वेष फैलाउने मनस्थितिमा हाम्रो समाज अगाडि बढिरहेको अवस्थामा कर्मवादको ठूलो महत्व रहेको उल्लेख गरे । पछिल्लो समय समाजमा कर्मभन्दा कुरा ठूलो हुने, जिम्मेवारीभन्दा अधिकारको खोजी बढी गर्ने तथा इमानदार प्रयास र निरन्तर परिश्रमभन्दा छोटो बाटोबाट सफलता प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामेश्वर फुँयालले कर्मवाद, नैतिकता, अनुशासन, परिश्रम र उत्तरदायित्वका विषयमा समाजमा गम्भीर बहस तथा चिन्तन आवश्यक भएको बताए । व्यक्तिको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन नआएसम्म समाजको समग्र रूपान्तरण सम्भव नहुने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री एवं साहित्यकार सत्या अधिकारीले कुनै पनि कुरा आफैँमा खराब नभई गलत कर्म खराब भएकाले असल कर्म गर्न सबै लाग्नुपर्ने बताइन् । उनले पढे मात्र कृति सफल हुने भएकाले उक्त कृति सबैलाई पढ्न आग्रह गरेकी छिन् ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटा, भुँडिपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली लगायतले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गरे । कार्यक्रमका सभापति कर्मवादका अभियन्ता मनिराज डंगोलले आफ्नो जीवनको सङ्घर्षको अनुभव सुनाउँदै देशका ७५३ वटै पालिकामा चक्रपथ निर्माण गरी त्यसको माध्यमबाट मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिने हुँदा यसमा तीनै तहका सरकारको समन्वयतात्मक भूमिका रहनुपर्नेमा जोड दिए ।

पुस्तकका लेखक तथा पत्रकार कृष्ण अधिकारीले कर्म, नैतिकता, जिम्मेवारी, पुरुषार्थ र सामाजिक उत्तरदायित्वलाई आधुनिक जीवन तथा राष्ट्रनिर्माणसँग जोडेर विश्लेषण गरिएको पुस्तक ‘कर्मवाद स् चिन्तन र अभ्यास’ पाठकमाझ ल्याएको बताए । आधुनिक मनोविज्ञानले मानिसको व्यवहार र त्यसका परिणामलाई कारण–परिणाम, सोच, बानी, प्रेरणा तथा सामाजिक वातावरणसँग जोडेर अध्ययन गर्ने विषयलाई पुस्तकमा उल्लेख गरिएको उनको भनाई थियो ।